२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिको झिनो आशमा कांग्रेस


429
Shares

काठमाडौं । राजनीतिक खेलको अन्तिम मूभमा गलत दिशा समात्न पुग्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म शक्ति र सत्ताविहिन हुन पुग्यो । निर्वाचनपछि आगामी ५ वर्षसम्म सत्ताको मियो बन्न खुट्टा उचालेको कांग्रेस अहिले हाँस न बकुल्लाको चालमा देखिन्छ । आफ्नो अहम्ता र घमण्डले विचराको अवस्थामा पुगेको कांग्रेस राजनीतिमा बौरिने प्रयासस्वरुप अब सम्पूर्ण ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित गर्ने भएको छ ।

संसद विघटनविरुद्ध जोडिएको गठबन्धनबाट बाहिरिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेपछि एउटा कुरा निश्चित थियो, अब कांग्रेस प्रतिपक्षमा बस्छ । तर, सबै अपेक्षा विपरित कांग्रेस प्रधानमन्त्रीको लागि आफ्नो साथ छोडेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पुस २६ गते विश्वासको मत दिने पुग्यो ।

१६ दिनमै पुरै दिशा परिवर्तन गरेको कांग्रेस र कुर्सीकै लागि गठबन्धन तोडेका प्रधानमन्त्री दाहालबीच केही न केही भद्र सहमति भएको हुन सक्ने आशंका कायमै छ । तर, उक्त आशंका सभामुख र उपसभामुखको निर्वाचनमा गलत सावित भइसकेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयको औचित्यको खोजी भइरहँदा नेपाली कांग्रेसले राष्ट्रपतिमा झिनो आशा बाँकी नै राखेको छ । प्रधानमन्त्री दाहालको पार्टीले राष्ट्रपतिमा सघाउने झिनो आशा बल पुग्ने गरी कांग्रेसले सम्पूर्ण रूपमा राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

तर, आशा गरेजस्तो कांग्रेसको लागि राजनीतिक परिस्थिति अनुकूल छैन् । सत्ता साझेदार दलहरु पछिल्लो सत्तासमिकरणमा दृढ देखिएका छन् ।

हुन त राष्ट्रपति निर्वाचनको मिति तय भइसकेको छैन । राष्ट्रपति निर्वाचन सम्बन्धमा कानूनी जटिलता समेत देखिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ गते सकिँदैछ । संवैधानिक व्यवस्था अनुसार पदावधि सकिनु १ महिना अगावै राष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

संविधानले राष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष भनेकाले एक महिनाअगावै नयाँ राष्ट्रपति चुन्दा देशमा दुई राष्ट्रपति हुने अवस्था आउने तर्क सुरु भएको छ । सोही तर्क आधार बनाएर राष्ट्रपति निर्वाचनलाई पर सार्ने प्रयास सुरु भएको छ ।