७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काँचुली फेर्दै त्रिचन्द्र कलेज


182
Shares

काठमाडौं । राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उद्घाटन गरेको कलेजले मुहार फेर्ने भएको छ । महाविद्यालयको इतिहासमा शैक्षिक धाम मानिने यो कलेज खण्डहरमा परिणत भएपछि नागरिक स्तरमै पुननिर्माण हुनुपर्ने आवाज उठेको थियो । दुई वर्षभित्र ऐतिहासिक भवनको रुप देखिने गरी कलेजले काँचुली फेर्ने विश्वास लिइएको छ ।

त्रिचन्द्र कलेजको दुरावस्थाबारे सर्वत्र चासो बढेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ भवन बनाउन चासो लिएको थियो । कुनै समय देउवा यही कलेजका विद्यार्थी हुनुहुन्थ्यो । दुई वर्ष भित्र सक्ने गरी यसको पुननिर्माणको जिम्मा नेपाल टेक्निकल इन्फ्रा प्राइभेट लिमिटेडले ३४ करोड ६७ लाखमा लिएको छ ।

जसअनुसार अघिल्लो महिनादेखि यसको पुननिर्माण थालिएको छ । कलेजको पछाडिको भाग पुरै भत्काइने छ भने अगाडिको भाग रेक्ट्रो फिटिङ गरिने छ । काठका छाना नष्ट भएका कारण यसको संरचना जस्ताको तस्तै पारी काठको ठाउँमा फलाम प्रयोग गरी बलियो बनाइने भएको छ ।

मुलुकको पहिलो शैक्षिक धाम भएर मात्र नभई देश विदेशमा प्रतिभा फैलाउन सफल यो कलेज दिनप्रतिदिन जीर्ण अवस्थामा पुगेपछि सबै तह र तप्कामा चिन्ता बढेको थियो । यो कलेजबाट उत्पादित जनशक्ति कुन पेशा व्यवसायमा छन् भन्दा पनि कहाँ छैनन भन्ने साख धानेको कलेज धराप स्थितिमा पुग्नुका धेरै अन्तरकथा छन् ।

कुनै समय १३ हजार विद्यार्थी संख्या रहेको त्रिचन्द्र कलेजमा यस्तै अव्यवस्थाका कारण विद्यार्थी संख्या खुम्चिने क्रम निरन्तर रहेकै बेला यहाँ अध्ययरत विद्यार्थीहरुलाई अर्को भवनमा सारी पुननिर्माणको काम थालिएको हो । यहाँ पढ्ने विद्यार्थी कतिबेला भवितव्यमा परिने हो भनेर भयभीत हुँदै आएका थिए ।

२०७२ को भूकम्पले त यसका हरेक पाटो थिलथिलो बनाएको थियो । तीनतले भवनमा रहेको घण्टाघर रहेको संरचनाको हालत त झन हेर्न सक्ने अवस्थामा थिएन । यहाँ रहेको ऐतिहासिक घडीले काम नगर्दा यसको मर्मत सम्भार त भयो तर भवनको जिर्णोद्धारमा कसैको ध्यान पुगेको थिएन ।

भूकम्प पुननिर्माण प्राधिकरणले पाँच बर्ष भित्रमा देशभरका भूकम्पबाट प्रभावित भवन बनाउने प्रतिवद्धता जनाएको थियो यद्दपी यसको दृष्टि यहाँ नपुग्दै प्राधिकरण खारेज हुन पुगेपछि यसको पुननिर्माण बीचमै अड्किएको थियो । ढिलै भए पनि शैक्षिक इतिहासको धरोहरका रुपमा रहेको कलेजलाई यो अवस्थाबाट जोगाउन सरकारले लिएको अग्रसरता प्रशंसनीय छ ।