
इलाम । महाभारत पर्वतको दोस्रो अग्लो पहाड र पर्यटकीय स्थल इलामको छिन्टापु पुग्ने पदयात्रीको संख्या बढ्दै गएको छ ।
विश्वको अग्लो सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मनास्लु लगायतका थुप्रै हिमालको दृश्यमा रमाउन सकिने छिन्टापु पुग्ने पदयात्रीको संख्या बढेको हो । साथै छिन्टापु हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फूल र जताफर्के पनि हिमाल देखिन्छ । दर्जनौं हिमाली दृश्यले स्वागत गर्दा पदयात्री आनन्दित हुने गरेका छन् ।
एक प्रदेश एक साँस्कृतिक ग्राम घोषणा गरी संघीय सरकारले इलामको छिन्टापु पुग्ने पदमार्ग निर्माण गरेपछि यहाँ पुग्ने पदयात्रीको संख्या बढ्दै गएको छ । पूर्वीपहाडको पहिलो रामसार क्षेत्र माइपोखरीबाट छिन्टापु पदमार्गले जोडिएपछि यहाँ पुग्ने पदयात्रीहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएको सन्दकपूर गाउँपालिका–२ का वडा अध्यक्ष सनम राईले बताउनुभयो ।
छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत, वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले स्वागत गर्ने गर्छ । कात्तिक र मंसिर महिनामा भने हिमाली दृश्यसँगै प्राकृतिक सुन्दरताले पदयात्रीलाई स्वागत गरे झै देखिन्छ ।
छिन्टापु हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फूल र जताफर्के पनि हिमाल देखिन्छ । दर्जनौं हिमाली दृश्यले स्वागत गर्दा पदयात्री आनन्दित हुने गरेका छन् । छिमेकी जिल्ला पाँचथरसँग छिन्टापु सीमा जोडिएको छ । पदयात्रालाई सहज बनाउन माईपोखरीदेखि टप्पु र खप्परे हुँदै छिन्टापु जोड्ने पदमार्ग संघीय सरकारले निर्माण गरेको हो ।
रामसार क्षेत्र माइपोखरीदेखि छिन्टापु पुग्नका लागि ६ घण्टा पदयात्रा गर्नुपर्ने हुन्छ । छिन्टापुमा बस्ने स्थानको अभावले गर्दा पदयात्रीहरु बिहान ३ बजेबाटै पदयात्रा गर्दै आएको सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
छिन्टापुमा बास बस्ने व्यवस्था नहुँदा बिहान छिट्टै पदयात्रा गर्नुपर्ने बाध्यता रहेकाले पदमार्ग निर्माणपछि गेष्ट हाउस निर्माणको आवश्यकता रहेको पदयात्रीको माग छ । घना जंगल र पूर्वीनेपालका ग्रामीण बस्तीको अवलोकन गर्दै यात्रा गर्न सकिने भएकाले पर्यटकीय सम्भावना धेरै रहेको छ ।
पदयात्राका क्रममा झुल्केघाम दृश्यावलोकन गर्न सकिने अग्ला डाँडाहरु तथा अग्ला भीरमा रहेका गुफाहरु र जंगली जनावरको दृश्यमा रमाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्