१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केबुल टेलिभिजन व्यवसायीद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण


65
Shares

काठमाडौं । केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मंगलबार व्यवसायीहरुले आफ्ना विभिन्न समस्याको तत्काल समाधान गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका हुन् ।

केबुल टेलिभिजन व्यवसायीहरुसँगको भेटपछि बोल्दै सञ्चारमन्त्री शर्माले अन्तर मन्त्रालयलाई समन्वय गर्ने संरचना नहुँदा यी समस्या बढ्दै गइरहेको बताउनुभयो । उहाँले आफू मन्त्रालयमा नयाँ भएको भन्दै यस विषयमा पूर्ण जानकारी लिएर मात्रै काम अघि बढाउने बताउनुभयो ।

महासंघका अध्यक्ष ध्रुब शर्माले मन्त्रालयबाट एन्ड्रोइड सेटअप बक्स ल्याउन दिएर सबै चिज आईपीटिभीलाई फ्रिमा दिएर व्यापार नै धराशायी बनाइएको गुनासो गर्नुभयो । उहाँले हाल पोल भाडाको विषयलाई लिएर विद्युत प्राधिकरणबाट देशका विभिन्न स्थानमा केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्ने जस्ता गैरकानूनी कार्य भइरहेको भन्दै तत्काल रोक लगाउन माग गर्नुभयो ।

व्यवसायीहरुले इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) मार्फत गरिएको टेलिभिजन कार्यक्रम प्रशारण तत्काल बन्द गराइ त्यस्ता आईएसपीहरुसँग हालसम्मको प्रशारण तथा वितरण शुल्क र जरिबाना असुल गर्नुपर्ने अन्यथा केवल व्यवसायीहरुले हालसम्म बुझाइसकेको प्रशारण तथा वितरण शुल्कसमेत फिर्ता गर्न माग समेत गरेका छन् ।