
काठमाडौं । संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् ।
नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको वस्तुस्थिति बुझन् भ्रमणमा आउन लागेको बताइएको छ ।
उपविदेशमन्त्री नुल्यान्ड नेपालमा रहँदा प्रधानमन्त्री दाहालसहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतका राजनीतिक नेतृत्वलाई भेट्ने बताइएको छ ।
नेपालमा सरकार गठनलगत्तै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरू भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताउनुभएको छ ।
उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा बिहीबारसम्म वासिङ्टन डीसीबाटै विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्