
म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट निकालिएका दुई वटा शिला बिहीबार रुद्रभिशेकसहित अयोध्या पठाइएको छ ।
अयोध्या पठाउनु अघि विशेष पुजाआजा गरी गलेश्वरधाममार्फत अयोध्याका लागि विदाइ गरिएको हो ।
शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति बनेर विश्वभरका हिन्दु धर्मावलम्वीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी हो । कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको शिला बिहीबार मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा आजागरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको हो ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दासलाई हस्तान्तरण गरेपछि बाजागाजा र र्याली सहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो ।
रामको मुर्ति बन्ने शिलाको दर्शन गर्न र हेर्न सयौं भक्तजन,सरकारी निकायका प्रमुख तथा प्रतिनिधि,सर्वसाधारण लगायतको बिहीबार भीड लागेको थियो । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो । हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ ।
प्रतिक्रिया दिनुहोस्