
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी कमिटी बैठकमा उहाँले संसद विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेकोमा असन्तुष्टि जनाउनुभएको एक पदाधिकारीले जानकारी दिनुभएको हो ।
संसद विघटनको विषय निर्वाचित प्रधानमन्त्रीका अगाडि सहज विषय नभएको दाहालको धारणा रहेको बताइएको छ । अध्यक्ष दाहालले मन्त्रालय भागबण्डार मर्यादाक्रममा पनि असन्तुष्टि जनाएको बुझिएको छ । उहाँले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुने कुरा गम्भीर भएर सोच्नुपर्नेमा पनि जोड दिनुभएको बताइएको छ ।
सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाउँदा भोलि प्रधानमन्त्री हुँदा आउन सक्ने परिस्थितिको मूल्यांकन आवश्यक रहेको धारणा राख्नुभएको स्रोतले उल्लेख गरेको छ । अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो ।
पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ । स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्