
काठमाडौं । राष्ट्रपतिको कुर्सीमा अर्जुनदृष्टि लगाएको एमाले र त्यसबाट एमालेलाई बाईपास गराउन चाहने प्र्रमुख प्रतिपक्षीको खेलोफड्कोले भावी राजनीतिमा अनेक शंका उपशंका जन्मिएको छ । राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र वर्तमान गठबन्धन सरकारका निर्माता केपी ओलीबीच फरक धारणा आएपछि अनुमान गर्नेहरुका लागि थप मसला मिलेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकका प्रमुख पद एउटै दललाई सुम्पने पक्षमा हुनुहुन्न । संवैधानिक पद भएपनि व्यक्तिका कारण सक्रियता बढ्दै गएको बुझ्नुभएका उहाँ सत्ताको साँचो लिने हतारोमा एमालेका सबै सर्त मञ्जुर गरेको पुस १० गतेको त्यो क्षण फर्काउने प्रयासमा हुनुहुन्छ । एमालेसँग राष्ट्रपति विषयमा समझदारी भएपनि सहमति नभएको तर्क बारम्बार अघि सार्नुहुन्छ । राष्ट्राध्यक्ष पदमा राष्ट्रिय समझदारी हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।
यस विपरीत एमाले अध्यक्ष ओलीले भने आफ्नो दलले उठाएको उम्मेदवार नै राष्ट्रिय सहमतिकोउम्मेद्वार हुने दावी गर्दै आउनुभएको छ । उहाँले त यस विषयमा बारम्बार आफूलाई नजिस्काउन पत्रकारहरुलाई सचेत गराउनुभएको छ । सत्ता सहयात्री दुवै दलका शीर्ष नेताका यी भनाइ एकापसमा ‘काउन्टर’ दिने खालका छन् । अर्थात्, सत्तामा सहयात्रा भएर पनि एकअर्काबीच शंका उपशंका देखिन्छ ।
मुखैमा आएको केन्द्र र प्रदेशको सत्ता गुमाएको कांग्रेसले फेरि दाहाल मनाउने कसरत थालेपछि यी दुई शीर्ष नेतृत्वबीच शंका जन्मिएको हो । पार्टीभित्रै विरोध भए पनि देउवाले २६ पुसमा यो सरकारलाई विश्वासको मत दिलाउनुभयो । त्यहीबेलादेखि ओलीमा माओवादीले बेइमान गर्ने त हैन भन्नेठूलो संशय देखिन्छ ।
विश्वासको मत दिन आग्रह गर्दै प्रधानमन्त्री पुस २५ गते साँझ देउवाको निवासमा पुगेदेखि नै ओलीको आशंकाको पारो बढेको हो । तर, अहिले नै धेरै सशंकित भएर पाएको सबै गुमाउन उहाँ तयार हुनुहुन्न ।
राष्ट्रपतिमा एमाले उम्मेदवारलाई विजयी गराउन सक्दा पाँच वर्ष कसैले हटाउन नसक्ने र राजनीतिक कोर्स आफूअनुकूल हुने बुझाइ एमालेको छ । तर अहिलेको गठबन्धनको स्थिति हेर्दा सहजै माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन ।
प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य मतदाता हुने राष्ट्रपतिको निर्वाचनमा माओवादीको मत निर्णायक छ । कांग्रेस उम्मेदवार विजयी हुन माओवादीको पूरै मत जानुपर्ने देखिन्छ, जुन तत्काल सम्भव नरहेको नेताहरूको अभिव्यक्तिबाट पुष्टि हुन्छ । वर्तमान सत्ता गठबन्धन तोड्ने मिसनमा रहेको कांग्रेसले आफ्ना सम्पूर्ण रणनीति राष्ट्रपति निर्वाचनका लागि केन्द्रित गरेको छ ।
सत्ताबाट बाहिर रहेका दललाई एकजुट बनाउँदै अगाडि बढेको कांग्रेसले सत्ता गठबन्धनबाट माओवादीको भोट तान्न सके राष्ट्रपति चुनाव जित्ने र गठबन्धन पनि टुट्ने आशा राखेको छ । कांग्रेस र एमाले दुवैले राष्ट्रपतिको उम्मेदवार अगाडि सार्ने अवस्थामा माओवादीको मत नै राष्ट्रपति चयनका लागि निर्णायक हुने देखिन्छ ।
धेरै जनालाई प्रधानमन्त्री बनाएर रेकर्ड कायम गरेको दाबी गर्ने प्रचण्डको धैर्य र अडानलाई लिएर बेलाबखत टिप्पणी हुने गरेको छ । एमालेसँगको सहयात्रा तत्काल टुटाउनु आत्मघाती हुने माओवादीभित्र अर्को विश्लेषण छ । तर ‘क्रमभंगता’ गर्ने यही शैलीलाई कांग्रेस–एमालेका नेताहरूले दाहालको अस्थिर र अवसरवादी चरित्रका रूपमा व्याख्या गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्