२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा परालकाे गुन्द्री लाेप हुँदै


26
Shares

स्याङ्जा । पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ ।

बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको हाे। मंसिरको अन्तिम हप्तादेखि माघको तेस्रो हप्तासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तानिएका हुन्थे। स्याङ्जाको गल्याङ नगरपालिका–११ बज्रेका महिलाको समूहले पर्मपरा धानेका छन्। उनीहरुले सान र ठूला गरी कुल ५३ वटा गुन्द्री बुनेका छन्। गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्र्याउने बेलामै पराल छुट्टाएर राख्ने गरिन्छ ।

हिजो आज भने गुन्द्री बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिन्छ । गाउँमा कहीँ कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियोको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । अचेल बाबियोको ठाउँमा जुट र प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन् ।

चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने र बिस्कुन सुकाउन पनि सहज हुने तथा विवाह, व्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ । परालबाट बन्ने र यता-उता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने जगत्रशिला आमा समूहकी अध्यक्ष दिलमाया सिजाली बताउनुभयो ।

आफूहरुकाे पालामा त बाबियो काटेर र बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने चलन भएकाे अध्यक्ष सिजालीले बताउनुभयाे । अहिले त बाबियो पनि मासिँदै गएकाे उहाँकाे भनाइ छ । बाबियो र परालको गुन्द्रीको प्रयोग घट्दै गएकाे र पहिलेको तुलनामा अहिले धेरैले प्लास्टिकका गुन्द्री र म्याट प्रयोग गरेकाे उहाँले बताउनुभयाे ।

हिउँदाको समयमा जब काम सकिन्छ, घर नजिकै समथर बारी र आँगनमा तलमाथि ४ वटा किला गाडिन्छ । तलमाथिका किलामा नै २ वटा काठ तेर्स्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाधिन्छ । सर्लक्क परेका लामो परालको त्यान्द्रा हाली हतासोले ठोकिन्छ अनि दायाँ र बायाँ हातैले बिट मारिन्छ । बिट मार्नका लागि पनि कला चाहिन्छ । यसरी नै गुन्द्री बुनिन्छ ।

आधुनिकता, सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, चकटी साथै डोका–नाम्लाहरू बुन्ने र प्रयोग गर्ने चलन संकटमा पर्छन् कि भन्ने पिर लाग्न थालेको अध्यक्ष सिजालीले बताउनुभयाे । यसको संरक्षण गर्नका निम्ति अहिलेका स्थानीय सरकारले जोड दिनुपर्ने उहाँकाे तर्क छ ।

संरक्षण र प्रवर्द्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सीप हस्तान्तरण गर्न आवश्यक छ । नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण हुन कठिनाइ हुने देखिएकाे छ ।