६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रेडक्रस सोसाईटीद्वारा डडेल्धुराका बिरामीलाई निःशुल्क रगत उपलब्ध


117
Shares

डडेल्धुरा । नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवाले ३ वर्षदेखि निःशुल्क रुपमा बिरामीलाई रगत उपलब्ध गराउँदै आएको छ ।

सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाहरुबाट डडेल्धुरा अस्पतालमा उपचारका लागि आउने विभिन्न रक्त समूहका बिरामीलाई निःशुल्क रुपमा रगत दिंदै आएको सोसाईटीले जनाएको हाे ।

सोसाईटीले गत आर्थिक वर्षमा ७ सय ५० र चालू आर्थिक वर्षको माघ महिनाकाे पहिलो हप्तासम्म रगत संकलनको वितरणसहित ४ सय १५ जति पिन्ट बिरामीलाई निःशुल्क रगत दिंदै आएको थियाे । तर कर्मचारी परिचालन र प्रशासनिक खर्चको आर्थिक अभावले सेवा प्रभावित हुने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति मदनराज चटौतले जानकारी दिनुभयाे ।

७ वटा पहाडी जिल्लाको एक मात्र भरपर्दो अस्पताल नजिकै रहेको रक्त सञ्चार सेवाललाई प्रभावकारी बनाउन ३ वर्ष अगाडि डडेल्धुराका स्थानीय तहहरुले सेवालाई निरन्तरता दिन वार्षिक १ लाख रूपैयाँ विनियोजन गर्ने निर्णय गरेकाे थिए । तर अहिलेसम्म बजेट उपलब्ध नगराउँदा रक्त सञ्चार सेवा दिगो नहुने सभापति चटौतको भनाइ छ ।

अस्पतालबाट माग भए बमोजिम रगततत्व छुट्याएर सेवाग्राहीलाई निःशुल्क प्रदान गरिएकाे छ । जसका कारण गर्भवती सुत्केरी र दुर्घटनामा परेका लगायतका बिरामीको ज्यान जोगाउन सफल भएको सोसाईटीले जनाएकाे छ । सोसाईटीले पहाडी जिल्लाहरुका अस्पतालमा नभएको सेवा विस्तार गर्दै आएकाे छ । जसले रक्तसञ्चार सेवालाई स्तरोन्नति गर्न विभिन्न तापक्रम अनुसारको भण्डारण र रगततत्व वर्गीकरण गर्ने कम्पोनेन्ट मसिन र उपकरणहरु जडान गरिएकाे छ ।

सेवाको कठिनाईलाई गम्भीरताका साथ लिएर अत्यावश्यक उपचार सेवा लिन डडेल्धुरा आइपुग्ने बिरामीले भोग्नु पर्ने पीडा र समस्यालाई सरोकारवाला निकायको ध्यान जान जरूरी देखिन्छ ।