
काठमाडौं । किसानको उत्पादन उपभोक्तासम्म पुग्दा खेर नजाने तथा विभिन्न जिल्लाको उत्पादन उपभोक्ताले सहजै उपभोग गर्न पाउने भएका छन् । विभिन्न प्रविधिमार्फत किसानदेखि उपभोक्तासम्म पुर्याउँदा कृषि उत्पादनको नोक्सानी नहुने प्रविधि नेपालमा भित्र्याइएको छ ।
सामान्यतया किसानबाट बजारसम्म र बजारबाट उपभोक्तासम्म पुग्दा धेरै फलफूल तथा तरकारी कुहिएर खेर जाने गर्दछ । किसानले नै फलफूल तथा तरकारी टिप्दा लापरवाही गर्ने र ढुवानीको क्रममा पनि धेरै सामाग्री बिग्रिएको पाइन्छ । त्यस्तै, त्यो सामाग्री होलसेल हुँदै उपभोक्तासम्म पुग्दा २० देखि ६० प्रतिशतसम्म नोक्सान भएको हुन्छ ।
पछिल्लो समय काठमाडौंको मण्डिखाटारमा रहेको मण्डला एग्रीफ्रेसले किसानदेखि उपभोक्तासम्म तरकारी तथा फलफूल पुर्याउन विशेष किसिमको प्रविधि भित्र्याएको छ । जसबाट किसानले उत्पादन गरेको तरकारी तथा फलफूल कम नोक्सानीमै उपभोक्तासम्म पुग्ने गर्दछ । उत्पादित सामाग्रीलाई विशेष किसिमको कुहिने झोलाको प्रयोग गरेर कोल्ड स्टोरसम्म पुर्याउने र त्यहाँ पनि अन्य विषाधिमुक्त प्रविधिको प्रयोग गरेर उपभोक्ताको घरघरमा पुर्याइन्छ । यसबाट अन्य कोल्ड स्टोरको तुलनामा न्युनतम सामाग्री मात्र खेर जाने मण्डला एग्रीफ्रेसका सञ्चालक निशाध मल्ल बताउनुहुन्छ ।
देशका विभिन्न स्थानबाट ल्याएका सामाग्रीलाई विषाधीको प्रयोग बिना खेर नफाली उपभोक्तासम्म पुर्याउने उद्देश्य संस्थाको रहेको छ । जसका कारण किसानलाई आफ्नो सामाग्रीको मूल्य केही बढी आउने र उपभोक्ताले पनि केही सस्तो लागतमा सामान पाउने गरेका छन् ।
संस्थाले अनलाइन तथा सम्पर्कको माध्यमबाट विभिन्न जिल्लामा उत्पादित सामाग्री बजार भाउको तुलनामा केही सस्तो मूल्यमा उपभोक्ताको घरघरमा पुर्याउने गरीएको छ । सुरुवाती चरणमा प्रदेश १ को उत्पादनलाई महत्व दिएपनि पछिल्लो समय अन्य प्रदेशको उत्पादनलाई पनि उपभोक्तासम्म पु¥याइएको छ । किसानले उत्पादन गरेको वस्तु ग्राहकसम्म सुरक्षीत र उचित मूल्यमा पुर्याउने काम गर्ने गरेको मण्डला एग्रीफ्रेसका व्यवस्थापक सोफिया तामाङ बताउनुहुन्छ ।
उपभोक्ताले सस्तो मूल्यमा आफ्नै घरमा अर्गानिक किसानको उत्पादन पाएका छन् । एक दुई दिनमै कुहिने साग यो प्रविधिबाट दुई हप्तासम्म पनि भण्डारण गरेर खान योग्य बनाउन सकिने सञ्चालक बताउँछन् । पछिल्लो समय राम्रो बजार पाएको एभोकाडो तथा किबीको बजारमा अत्याधिक माग रहेको छ ।
धनकुटा तथा भोजपुरको एभोकाडो, भोजपुरको साग, सिन्धुलीको जुनार, स्याङ्जाको सुन्तला लगायतको अहिले बजार रहेको छ । संस्थाले प्रविधिको बारेमा किसानलाई तालिम पनि दिरहेको हुन्छ । जसले गर्दा किसाले आफ्नो सामाग्रीलाई बजारसम्म पुर्याउँदा कसरी खेर नफाल्ने भन्ने विषयमा जानकारी हुन्छ ।
सामान्यतया फलफूल तथा सामाग्री उपभोक्तासम्म पुग्दा खेर जाने हुँदा बजार भाउ महंगो हुन्छ । व्यापारीले खेर जाने सामाग्रीको भाउ पनि बेच्ने सामाग्रीमा जोड्दा बजार भाउ महंगो हुनुका साथै सामग्रीको अभाव पनि हुने गर्दछ । त्यसैले प्रविधिमार्फत सामग्री आयात गर्दा कम खेर जाने र उपभोक्तालाई पनि कम लागतमै स्वच्छ र ताजा उत्पादन प्रयोग गर्न सहज हुन्छ । त्यसैले किसानले उत्पादनमा मात्र नभइ भण्डारण र ढुवानीमा पनि प्रविधिको प्रयोग गर्न सके कृषि उपज कम क्षतिमा उपभोक्ताको भान्सासम्म पुग्छ ।
प्रतिक्रिया दिनुहोस्