१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


260
Shares

काठमाडौं । राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्ने बैठकमा पूर्वसहमतिअनुसार गृहमन्त्रालय नपाएको अवस्थामा सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताए लगत्तै बैठक बस्न लागेको हो ।

उहाँले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भन्नुभएको छ । उहाँले आफू अभिमन्यु नभएको बताउँदै ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो’ भन्नुभयो ।

यसअघि पार्टी सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक घण्टा वार्ता गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँले उप्रधानसहित गृहमन्त्री दोहोर्‍याएर आफैँलाई नियुक्त गर्न आग्रह गर्नुभएको बताइएको छ ।

सत्ता गठबन्धनलाई निरन्तरता दिएपछि अहिले आउने टिप्पणीहरू विस्तारै सेलाउँदै जाने भन्दै उहाँले आँट गरेर निर्णय लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री दाहालले भने नागरिकता विवादको पूर्ण फैसला नआउँदासम्म धैर्य गरेर बस्न आग्रह गर्नुभएको थियो ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको भन्दै माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेजीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा उपप्रधान एवम् गृहमन्त्री रहनु भएका लामिछानेको सबै पद गुमेका थियो । तर माघ १५ गते नेपाली नागरिकता पुनःप्राप्ति गरेपछि लामिछानेले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई बारम्बार आग्रह गरिरहनु भएको छ ।