
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नी पीडित परिवारलाई ५८ लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच अग्नी पीडित सहयोग समितिमार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । नेले विकास समाजले मात्रै १३ लाख ४९ हजार ६ सय ८० रुपैयाँ संकलन गरेको हो ।
उक्त सहयोग रकम आगलागीबाट पूर्ण रुपमा घरमा क्षति भएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार ८ सय १३ रुपैयाँ, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार ५ सय ४८ रुपैयाँ, बुद्धिबहादुर कार्कीलाई ११ लाख २२ हजार ८९ रुपैयाँ, रमेश बस्नेतलाई १० लाख २४ हजार ८ सय ८१ रुपैयाँ र आंशिक क्षति भएका प्रणय राईलाई ५ लाख ४९ हजार ५ सय ३६ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।
त्यस्तै, भाडामा बसेका मिंमार तामाङलाई २ लाख ७१ हजार ६३ रुपैयाँ, मोहन भुजेललाई १ लाख ३० हजार ६ सय २३ रुपैयाँ, बुद्धिबहादुर केसीलाई ७६ हजार ३ सय ५२ रुपैयाँँ, सुरेन्द्र कार्कीलाई ४० हजार २ सय ८० रुपैयाँ, हेमन्त बस्नेतलाई २० हजार १४० रुपैयाँ, भिमकुमारी बस्नेतलाई २९ हजार ३ सय ४६ रुपैयाँ, विक्रम बस्नेतलाई १३ हजार ८ सय १० रुपैयाँ र ङवाङगिर्मी शेर्पालाई १६ हजार ६ सय ८७ रुपैयाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।
समितिको कोषमा देश तथा विदेशबाट संकलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै अब सहयोग संकलन कार्य सकिएको अध्यक्ष सुनुवारले बताउनुभयाे । गत पुस ५ गते दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा ४ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । केही घरहरुमा भने आंशिक क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्