
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।
सो पार्टीको आइतबार सम्पन्न केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।
त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित हुने बताउनुभयो ।
त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो । बैठकमा नेताहरुले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्