
काठमाडौं । मामाको धन, फुपुको श्राद्ध भन्ने नेपाली उखान नेपाल ट्रष्टको स्वामित्वमा रहेको भौतिक संरचना हेर्दा प्रष्ट हुन्छ । देशबाट राजतन्त्र बिदाई भएपछि राजा महाराजाका नाममा रहेको चल, अचल सम्पति नेपाल सरकारको स्वामित्वमा आएपनि त्यसको उचित संरक्षण हुन सकेको छैन । सरकारकै मातहत रहेका भौतिक संरचना खण्डहर हुँदै जाँदा सरोकारवाला निकाय मौन बस्नु थप रहस्यमय बनेको छ ।
नेपाल ट्रस्टका नाममा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजा धेरै समयदेखि रिक्त छ । राजा वीरेन्द्रले छोरी श्रुतीलाई आय आर्जनका लागि दिएको यो भवन नेपाल ट्रस्ट अन्तर्गत आएपपछि ट्रष्टले काठमाडौं महानगरपालिकासँग मासिक ६० लाख रुपैयाँमा भवन भाडामा दिने सहमति त भयो यद्यपी यहाँस्थित व्यापारीले मुद्दा दर्ता गरेपछि सर्वाेच्चमा बिचाराधीन मुद्दाको किनारा नलाग्दा अलपत्र छ ।
जसका कारण ट्रस्टले दैनिक दुई लाख रुपैयाँ भाडा गुमाइरहेको छ । यसअघि भवन भाडामा लिएको कन्सेप्ट डेभलपर्ससँग नेपाल ट्रस्टको सम्झौता २ असार ०७७ मा सकिएको थियो । त्यो अवधिको पनि भाडा ट्रस्टले पाएको छैन । भवन रिक्त भएको १३ महिना हुँदा भवन भाडामा लगाउन नसकिएको नेपाल ट्रस्टका सूचना अधिकृत सरस्वती शर्मा बताउनुहुन्छ ।
यहाँ रहेका हरेक व्यापारिक प्रयोजनका लागि खोलिएका सटर बन्द रहँदा यो दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । अपवादका रुपमा मुक्तिनाथ विकास बैंकको कार्यालय भने सञ्चालनमा छ । सो बैंकको कार्यालय किन खाली गराइएन त भन्ने बारे नेपाल ट्रस्ट बोल्न चाहेन । त्यसो त नेपाल ट्रस्ट अन्तर्गत आएका अधिकाश भवनहरुको हालत यस्तै छ । बषौंदेखि बोर्डको बैठक बस्न नपाएका कारण अलपत्र परेको ट्रस्ट स्वीकार्न तयार छ ।
काठमाडौं महानगरपालिकासँग पर्याप्त भवन नहुँदा कार्यालय चलाउन भाडाको घरमा बस्नु परेको छ । जसबापत उसले मासिक करिब ३० लाख भाडामा खर्चिदै आएको छ । काठमाडौं प्लाजाको माथिल्लो तला कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने र तल्लो तला भाडामा लगाउने योजनासहित महानगरले भवन भाडामा लिने प्रक्रिया अघि बढाएपनि यसको टुंगो लागेको छैन ।
२०५० असार ३ मा तात्कालीन राजकीय सम्पत्ति कोष विभाग राजदबारले राजपरिवारको नाममा रहेको पाँच रोपनी दुई पैसा जग्गा व्यवसायीलाई ७ वर्षका लागि भाडामा दिएको थियो । २०६७ मा भाडा अवधि १० वर्षका लागि थप गरेको थियो । जुन सम्झौता २०७७ को असारमा सकियो । मासिक ६० लाख भाडा आउनेमा सो कम्पनीले वार्षिक ७५ लाख मात्र भाडा तिर्दै आएको थियो । सस्तोमा लिएर महँगो भाडामा लगाउँदै आएको सो कम्पनी गोकर्ण रिसोर्टलाई जस्तै आफूलाई पनि निसर्त अवधि थप्नुपर्ने माग गर्दै अदालत जाँदा काठमाडौ प्लाजाको यो हविगत भएको हो ।
प्रतिक्रिया दिनुहोस्