
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघि नै विघटन हुने डर आफूलाई लागेको बताउनुभएको छ ।
ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उहाँको जिकीर थियो ।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाउनुभयो ।
नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताउनुभयो । ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न नसकेको उहाँको बुझाई थियो ।
नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । मुलुकमा बैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अप्नाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उहाँको भनाई थियो ।
नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी समेत गर्नुभयो । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उहाँले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भईरहेको बताउनुभयो ।
नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको उल्लेख गर्नुभयो । उहाँले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाउनुभयो ।
नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्