२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति हत्याउनेमा कांग्रेस


377
Shares

काठमाडौं । आफूबाट अप्रत्याशित फुत्किएको सम्पूर्ण शक्ति फर्काउन संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ । ठूलो दलको रूपमा सरकार बनाउने तयारी हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री भएदेखि नै कांग्रेस नेतृत्वलाई टाउको दुखाई बनेको छ ।

सुरुबाटै माओवादीसँग पुनः सम्बन्ध सुधारेर ‘कोर्स करेक्सन’ गर्ने र सत्ता राजनीतिको केन्द्रमा आफूलाई समाहित गर्ने प्रयत्न कांग्रेसले गर्दै आएको हो । यसबीच कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेको छ भने केन्द्रदेखि प्रदेशसम्म कतै माओवादी नेताविरुद्ध कुनै खालको प्रतिस्पर्धा गरेको छैन । माओवादीप्रति उदार हुनुको एउटै कारण हो– राष्ट्रपति चुनावसम्म वर्तमान गठबन्धन टुटाएर आफूअनुकूल पात्रलाई शीतल निवास पुर्‍याउने दाउ ।

राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गतेका लागि तोकिएको छ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन गरिसक्नुपर्छ । देउवालाई छाडेर १० पुसमा माओवादी केन्द्र अध्यक्ष दाहालले ओलीसँग सत्ता साझेदारी गर्नुभयो । १६९ सांसदको समर्थन पाएर प्रधानमन्त्री बने पनि प्रधानमन्त्री दाहाल आफैं देउवासँग विश्वासको मत माग्न पुग्नुभएको थियो । देउवाले विनाशर्त दाहाललाई मत दिएर कोर्स करेक्सनको बाटो अगाडि बढाउनुभयो ।

सरकार बन्नुअघिको सहमतिअनुसार सभामुख एमालेले पाइसकेकाले अब राष्ट्रपति एमालेलाई दिने र साढे दुई वर्षपछि प्रधानमन्त्री ओलीलाई बुझाउनुपर्ने अवस्थाको आंकलन दाहालले गरिसक्नु भएको छ ।

यसैले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउने मौखिक समझदारीबाट प्रधानमन्त्री दाहाल पछाडि हटेको देखिन्छ किनकी राष्ट्रपतिमा कांग्रेस र एमालेको दौडमा माओवादीसँग निर्णायक मत छ ।

कांग्रेसको विश्वास र राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक भएकै आधारमा दाहालले एमालेसंग घुर्की लगाउने सामथ्र्य बटुलेको बुझ्न कठिन छैन । माओवादीलाई आफ्नो कित्तामा ल्याउँदा साना दलको सबै मत आवश्यक पर्ने बाध्यता कांग्रेसलाई रहन्न । तर, आफ्नै कारण टाढिएको माओवादीको साथ तत्काल पाउन कुनै चमत्कार हुनुपर्ने अवस्था भने विद्यमान छ ।

राष्ट्रपति चुनावमा माओवादी निर्णायक भएकाले उसलाई नचिढ्याउने कांग्रेसको नीति छ । यतिमात्रै होइन गठबन्धन गरेर चुनाव जिताएको माओवादी एमाले कित्तामा पुगेको भन्दै दाहालको आलोचना र विरोध हुने डरले देउवाले चुनावी समीक्षासम्बन्धी केन्द्रीय समितिको बैठक तीनपटकसम्म स्थगित गरिसक्नुभएको छ ।

दाहाल नेतृत्वको सरकारमा रहे पनि एमालेसँग बढी नजिक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाहेकका दललाई विश्वासमा लिने रणनीति कांग्रेसको छ । राष्ट्रपति चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु मतदाता हुन्छन् । उनीहरुको कुल मतभार ५२ हजार ६२८ हुन्छ । यसको बहुमत अर्थात् २६ हजार ३१५ मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा विजयी हुन्छ ।