
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक ४ घण्टा पछि सरेको छ ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिनपनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति जुट्न नसकेपछि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ५ बजे बस्ने बस्नेगरि सारिएको हो ।
मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि बुधबार बस्दै नबसी प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
विश्वासको मतको लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद केही दिनअघिदेखि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन् ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले बिहीबार बिहान पनि छलफल गरेका थिए ।
सदुरपश्चिम प्रदेशमा सत्तागठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएको छ । माग पूरा नभएसम्म विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडानले सरकार संकटमा परेको छ ।
मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो । प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९,नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् ।
गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक समयसिमा आज सकिँदैछ ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन २७ सांसदको समर्थन आवश्यक पर्छ । तर, नागरिक उन्मुक्ति पार्टीको समर्थनबिना मुख्यमन्त्री रावलले विश्वासको मत पाउने अवस्था छैन् ।
प्रतिक्रिया दिनुहोस्