१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपाल विश्वविद्यालय विधेयक फिर्ता लिन सांसदको माग


104
Shares

काठमाडौं । सांसदहरुले नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणा अनुसार नभएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले समितिमा पुगेको नेपाल विश्वविद्यालय विधेयकका बारेमा सरकार स्पष्ट हुनुपर्ने, सरकारी र निजी कुनैपनि अवधारणाअनुसारको नभएको जिकिर गर्दै विधेयक फिर्ता लैजानुपर्ने धारणा राखेका हुन् ।

बैठकमा सांसद खिमलाल देवकोटाले हाल समितिमा रहेको नेपाल विश्वविद्यालय विधेयकलाई सरकारले पूर्ण स्वामित्व लिएर अघि बढ्ने हो वा होइन भन्ने बारेमा मन्त्रालयसँग छलफल गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसद उदयबहादुर बोहराले सरकारले ल्याएको नेपाल विश्वविद्यालय विधेयक आपसमा बाझिने खालको भएको बताउनुभयो । सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले ल्याएको नेपाल विश्वविद्यालय विधेयकमा शिक्षा मन्त्रालय नै अनविज्ञ रहेको टिप्पणी गर्नुभयो ।

समिति सभापति वेदुराम भुसालले गैर सरकारी क्षेत्रको विधेयक सरकारले किन ल्याएको भन्ने प्रश्नहरु उठिरहेको बताउनुभयो । उहाँले सरकार विधेयक कस्तो किसिमको हो भन्ने स्पष्ट पार्ने कुरामा तयार नभए विधेयक फिर्ता लिनुपर्ने बताउनुभयो ।

सभापति भुसालले बैठकले सरकारले संसदमा पेस गरेर शिक्षामन्त्रीको हस्ताक्षरसहित समितिमा पठाइसकेको विधेयक सरकारले पूर्ण स्वामित्व लिने वा निजी क्षेत्रले लिने भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।