८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राज्यका विशिष्ट व्यक्तिले सवारीमा शक्तिको चरम दुरुपयोग गरेको भन्दै सांसदकै असन्तुष्टि


0
Shares

काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गराउन माग गर्नुभयो । कास्कीमा ३० हजार भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेको भन्दै उनीहरुको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल पाउन नसकेको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकार सँग माग गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले राज्यका विशिष्ट व्यक्तिले सवारीका क्रममा शक्तिको चरम दुरुपयोग गरेको बताउनुभयो । विशिष्ट व्यक्तिको तडकभडक शैलीका कारण जनताले लोकतन्त्रको अनुभुति गर्न नसकेका भन्दै उहाँले आगामी दिनमा यस्तो संस्कारको विकास नहोस् भनी ध्यानाकर्षण गराउनुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले घोराही–तुलसीपुरको ४ लेन सडक समयमा नबन्दा जनताले सास्ती भोगेको भन्दै तुरुन्त निर्माण कार्य प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैना कार्कीले जाँजरकोटको नलगाड हाइड्रोको ८० महिना बित्दासमेत डिपिआर प्रतिवेदन आउन नसकेको भन्दै तत्काल सम्वद्ध कम्पनीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद योगेशकुमार भट्टराईले जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमा कोईराला पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभाव भएकाले मेलम्ची खानेपानी आयोजना भक्तपुरमा पु¥याउनुपर्ने बताउनुभयो । त्यस्तै, चिया बगानमा काम गर्ने मजदुरको पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामहरी खतिवडाले भूकम्प पीडितले पाउने भनिएको तीन लाख रुपैयाँ अझैसम्म नपाएको भन्दै कहिलेसम्ममा तीन लाख दिने हो भनि सरकारलाई प्रश्न गर्नुभयो ।

उहाँले सबै पालिकासम्म कहिलेसम्ममा सडक पिच भइसक्छ सो को मन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताउनुभयो ।