१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालबालिकामा ‘डाउन सिन्ड्रोम’को समस्या बढ्दै


208
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा बालबालिकाहरुमा डाउन सिन्ड्रोमको समस्या बढ्दै गएको छ । सामान्य बौद्धिक तथा शारीरिक अपाङ्गता देखिने डाउन सिन्ड्रोमको समस्याबाट हाल नेपालमा धेरै बालबालिका प्रभावित भएका छन् । जन्मजात रुपमा नै देखिने डाउन सिन्ड्रोम भएका बालबालिकाहरुलाई विशेष स्याहारको आवश्यकता पर्छ ।

शारीरिक र मानसिक विकास नै ढिलो हुने यस्ता बालबालिकालाई बोल्न, हिँड्न र खान नै समस्या हुने गर्छ । सामान्य मानिसको शरीरमा प्रत्येक कोषमा ४६ वटा क्रोमोजोम हुन्छन् । तर, डाउन सिन्ड्रोमको अवस्थामा भने ४६ को ठाउँमा ४७ वटा क्रोमोजोम बनेका हुन्छन् । जसका कारण यस्ता बालबालिकाको गतिविधि अन्य सामान्य बच्चाको भन्दा केही असामान्य हुने र फलस्वरुप शारीरिक विकास तथा सिकाईमा ढिलो हुने जस्ता समस्या देखिने गर्दछ ।

नेपालमा डाउन सिन्ड्रोम भएकाहरुको एकिन तथ्याङक त छैन । तर, वर्षमा १५ सय बालबालिका डाउन सिड्रोम भएका जन्मिने गरेको अनुमान छ । विश्वमा भने १ हजार बालबालिकामध्ये १ जनामा डाउन सिन्ड्रोमको समस्या देखिने गरेको अनुमान छ । यस्ता, बालबालिका सामान्य बालबालिकाको तुलनामा हिँड्न, बोल्न उठ्न, बस्न, खान सक्ने क्षमताको विकास निकै ढिलो हुने गर्छ । जसका कारण यस्ता बाबवालिकालाई स्पिीच तथा फिजियोथेरापीको समेत आवश्यकता पर्दछ । नेपालमा डाउन सिन्ड्रोम भएका बालबालिकालाईलक्षित गरेर कोरोना संक्रमण भन्दा अगाडीको समयमा विभिन्न डे केयर तथा कार्यक्रमहरु सञ्चालन गरिएपनि बजेटको अभावले कार्यक्रम तथा थेरापीहरु बन्द हुँदा समस्या परेको छ । बजेटको अभावले डे केयर संचालन गर्न नसकेको डाउन सिन्ड्रोम एशोशिएसन नेपालका अध्यक्ष रमेश तामाङ बताउनुहुन्छ ।

डाउन सिन्ड्रोम भएकाहरुलाई घरमा एक्लै राख्न नमिल्ने तथा उनिहरुलाई स्याहार सुसारको पनि ठूलो आवश्यकता पर्ने भएकोले पारिवारीक समस्या समेत हुने गरेको छ । यस्तो समस्याबाट गुज्रने बालबालीकालाई सामाजिक तथा पारिवारीक हिसाबले नै दैनिकी गुर्जान समस्या हुने गरेको अजिता ढकाल बताउनुहुन्छ ।

डाउन सिन्ड्रोम सन्चो नहुने रोग भएपनि थेरापीहरुको कारणले केही सुधार भने हुने गर्दछ । तर, थेरापी महंगो हुने गरेकाले अभिभावकलाई समस्या हुने गरेको छ ।

सामान्यत डाउन सिन्ड्रोम देखिएका बालबालीकाहरु अरुसंग घुलमिल गर्न खोज्ने, घुम्ने तथा रमाउने स्वभावका हुन्छन् । तर, सामाजिक हिसाबबाट नै उनीहरुलाई हेर्ने दृष्टीकोण फरक हुँदा समस्या हुने गर्दछ । नेपालमा डाउन सिन्ड्रोमको समस्या भएकाहरुको लागि छुट्टै स्कुलको व्यवस्था छैन । भएका डे केयरहरु पनि महंगो छन् ।

डाउन सिन्ड्रोमलगाएत बौद्धिक तथा शारीरिक अपाङगता भएकाहरुकोलागि लक्षीत गरेर स्कुल, डे केयर लगाएतका विषयमा सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।