
काठमाडौं । ट्राफिक प्रहरीको कारबाही विरुद्ध बालाजु माछा पोखरी क्षेत्रमा साेमबार आन्दोलनका क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट भएको छ ।
सडकमा तोडफोड र आगजनी भइरहेको बेला ल्होत्से मलमा प्रवेश गरेको समूहले मलभित्र रहेका पसलहरु तोडफोड गरी लुटपाट गरेको हो । मलको मुखैमा रहेका मोबाइल स्टोरहरुबाट लाखौंका मोबाइल लुटिएको छ । अन्य पसलहरुबाट पनि सामान लुटिएको छ । नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले हरेक सार्वजनिक सवारी साधनलाई वसपार्क प्रवेशमा जबरजस्ती गरेको भन्दै आक्रोशित भीडले मलमा आक्रमण गरेको हो ।
प्रहरीले लुटपाटमा संलग्न भएकाहरुको खोजी भइरहेको बताएको छ । सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी गरिएको छ । नयाँ बसपार्क क्षेत्रमा मंगलबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आक्रोशित यातायात मजदुरको भीडले प्रहरीको एउटा भ्यान र बालाजु वृत्तका डीएसपी चढ्ने स्कोर्पियो गाडी जलाएका थिए ।
सडकमा राखिएका ट्राफिक आइल्याण्डहरुमा पनि आगजनी गरेका थिए । सवारी जरिवाना बापत ट्राफिक प्रहरीले लिंदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका मजदुरले तोडफोड र आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्