
काठमाडौं । ओपनर कुशल भुर्तेलले शानदार शतकमा नेपालले विश्वकप लिग–२ मा नामिबियामाथि २ विकेटको जित निकालेको छ ।
भुर्तेलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो ।
भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउने क्रममा १ सय १३ बलमा १ सय १५ रन बनाए ।
नेपालले लिग–२ मा नामिबियालाई पराजित गरेको पहिलो पटक हो । यो जितसँगै नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशालाई कायमै राखेको छ । नेपालले अब लिग–२ मा आफ्नो बाँकी रहेको ११ मध्येको ८ खेल जित्नुपर्ने छ । नेपाल २५ खेलमा २० अंकका साथ सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले २५ रन बनाउँदा रोहीले ७२ रनको पारी खेले । कुशल मल्ल ६, दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए । सन्दीप जोराले २८ रन बनाउँदा करण केसी २० र सोमपाल कामी ४ रनमा अविजित रहे ।
नामिबियाका रुबेन ट्रमपेलमानले तीन विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८५ रन बनायो । नामिबियाका माइकल भान लिङगेनले १ सय ३३ रन बनाए । गेर्हार्ड इरास्मस ५६ रनमा आउट भए ।
नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३, सोमपाल कामी र कुशल मल्ले समान १÷१ विकेट लिए । अब नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्