१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्मला कुर्मीका लागि न्याय मागिरहेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति


247
Shares

काठमाडौं । निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको छ ।

बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने सहमती भएपछि आन्दोलन रोकिएको हो ।

सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमतिपछि बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूले धर्नाका कार्यक्रम स्थगित गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रियामा अघि बढाउन निर्देशन दिनुभएका्े थियो । प्रधानमन्त्रीको निर्देशनपछि आजै गृहमन्त्रालयमा भएको छलफलपछि धर्नारत महिला र सरकारबीच तीन बुँदे सहमति भएको हो ।

सहमतिपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले माइतीघर पुगेर धर्नारत महिलाहरूसँग भएको सहमतिपत्र सार्वजनिक गर्नुभको छ । मन्त्रालयका उपसचिव दिलकुमार तामाङले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १२ बमोजिम मुद्दामा विशेष अनुसन्धान गर्न टोली खटाउने सहमति भएको जानकारी दिनुभयो ।

त्यस्तै, अनुसन्धान प्रक्रिया समीक्षा गर्ने गर्दै धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ ।