१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी


273
Shares

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ को मुसहर बस्तीमा बसोबास गर्ने मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी हो । गरिबीको चरम अवस्थाबाट गुज्रीरहेका यो समुदायको जीवन स्तर परिवर्तनका लागि कुनै काम भएको छैन । भोट बैंकका रुपमा मात्र आफ्रनो समुदायलाई प्रयोग गर्ने गरेको उनीहरुको गुनासो छ ।

नवलपरासीका मुसहर समुदायको अवस्था नाजुक बन्दै गएको छ । प्रतापपुर गाउँपालिका– ७ को मुसहर बस्तीमा बसोबास गर्ने मुसहर समुदायको जिविकोपार्जनको माध्यम मजदुरी हो । अरुको घरमा काम गरेर आएको पैसाबाट उनीहरुको दैनिकी चल्ने गरेको छ ।

पुरुष घर बनाउने काममा र खेत खनजोतको काममा जाने गर्दछन् भने महिला खेतीबाली लगाउन जाने गरेका छन् । स्कुल जाने उमेर समूहका बालबालिकाहरु पनि विद्यालय नगएर मजदुरी गर्न जाने गरेका छन् । यस बस्तीमा राम्रो आवासको मात्र होइन खानेपानी र शौचालयको पनि अभाव छ । नवलपरासी खुला दिशामुक्त घोषणा भएको वर्षौ हुँदासमेत यो समुदायलाई शौचका लागि बाहिर जानु पर्ने बाध्यता छ ।

हरेक पाँच वर्षमा हुने चुनावबाट निर्वाचित भएका जनप्रतिनिधि पनि यिनीहरुको चरम गरिबीको अवस्थाबाट अनविज्ञ छैनन् । भोट बैंकका रुपमा मात्र यो समुदायलाई प्रयोग गर्ने गरेको उनीहरु बताउछन् ।

यो क्षेत्र अर्बपति विनोद चौधरीले जितेको क्षेत्रको हो । यसअघि ५ पटकसम्म एउटै व्यक्तिले चुनाव जितेर गएपनि केही नगरेको भन्दै उनीहरुले अहिले पनि समस्या समाधान हुनेमा विश्वस्त छैनन् ।

सुरक्षित घर नहुँदा यहाँका मुसहरले जाडोमा चिसो छेक्न चारैतिरबाट थोत्रा कपडाले बेर्ने गरेका छन् भने वर्षायाममा अरुकै घरमा गएर बस्नुपर्ने बाध्यता छ । ५४ हजारको हाराहारीमा जनसंख्या रहेको प्रतापपुर गाउँपालिकामा ३७ प्रतिशत गरिब छन् । दलित र मुसहरको संख्या २४ प्रतिशत रहेको छ ।

मुसहर समुदायको जीवनयापन र अवस्था सुधार गर्नका लागि पालिकाले तीनै तहका सरकारसँग समन्वय गर्ने र पालिकाले पनि छुट्टै कार्यक्रम सञ्चालन गर्ने सोच रहेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव बताउनुहुन्छ ।

छोराछोरीलाई पढाउनु, नयाँ लुगा लगाउनु र मिठो खानु मुसहरका लागि आकाशको फल जस्तै हो । एक छाक खानकै लागि पनि अर्कैको मुख ताक्नु पर्ने उनीहरुको जीवनस्तर परिवर्तनका लागि स्थानीय तहसँगै तीनै तहका सरकारले अपनत्व लिन जरुरी छ ।