
काठमाडौं । नेकपा माओवादी केन्द्रले विचारधारालाई प्रभावकारी बनाउन ४ तहको पाठ्यक्रम लागू गर्ने भएको छ ।
पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागू गरिने तय भएको माओवादीको भनाइ छ ।
जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा हालै बसेको बैठकले कार्ययोजना तय गर्दै ४ तहको पाठ्यक्रमलाई लागू गर्ने निर्णय गरेको हो ।
बैठकले सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । प्रशिक्षण कार्यक्रमा प्रत्येक पालिकाबाट १ जना, प्रत्येक जिल्लाबाट ५ जना र प्रदेश स्कुल विभागबाट सबै जनाको अनिवार्य उपस्थिति हुनुपर्ने नियम बनाइएको छ । प्रशिक्षणको व्यवस्थापन सम्बन्धित प्रदेशले गर्ने छ भने प्रशिक्षण, पाठ्यक्रम र कक्षासम्बन्धी अन्य व्यवस्था केन्द्रीय स्कुल विभागले गर्ने छ ।
आधारभूत तह, माध्यामिक तह र उच्च तह रहनेगरी पाठ्यक्रम तयार गरिएको छ । यस्तै, अनुसन्धानात्मक तहमा समकालीन मुद्दामा केन्द्रीत रहेर अनुसन्धान गर्नेगरी पाठ्यक्रम बनाइएको छ । यस्तै, स्कुल विभागले छनोट गरेका विषयहरुमा केन्द्रीत रहेर अनुसन्धानको कामलाई अघि बढाउने योजना पनि बनाइएको छ ।
अनुसन्धानको कार्य गर्दा केन्द्रीय स्कुल विभागका सदस्यहरू र विषयविज्ञहरु रहने गरी कार्यदल, संरचना रहने बताइएको छ । यस्तै, कक्षा सञ्चालन गर्दा केन्द्रीत तहमा २ वटा उच्च तहको कक्षा सञ्चालन गरिने छ भने प्रदेश तहमा वर्षमा एउटा मध्यम तहको कक्षा सञ्चालन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्