
तेह्रथुम । तेह्रथुम जोड्ने सिधुवा–शुक्रबारे–ओख्रे सडकमा कालोपत्रेको काम सुरू भएको छ ।
स्थानीयबासिन्दाको लामो प्रयासपछि सडक कालोपत्रेको काम थालिएको हो ।
सडक कालोपत्रे भएपछि स्थानीयवासीले तीन दशकदेखि खेप्दै आएको हिलो र धुलोको सास्तीबाट पार पाउने विश्वास लिएका छन् ।
कच्ची सडकका कारण गाउँमा उत्पादित दुध, तरकारी तथा फलफूल बजारसम्म पुर्याउन पनि मुस्किल हुँदै आएको थियो ।
सडक कालोपत्रे भएसँगै यस क्षेत्रका र छिमेकी जिल्लाका बासिन्दाहरुलाई सहज भएको स्थानीय उमेश पोख्रेलले बताउनुभयो ।
१६ किलोमिटर सडक ८२ करोड रुपैयाँको लागतमा कालोपत्रे गर्ने काम भईरहेको जनाईएको छ । ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.ले सडक निमार्णको काम गर्दै आएको छ ।
निमार्ण कम्पनीका अनुसार ८० प्रतिशत काम सम्पन्न भएको छ । सिधुवा शुक्रबारे–९ किलोमिटर सेमिग्राउडिङको काम सकिए सँगै प्रिमिक्सको काम सुरू गरिएको र शुक्रबारे–ओख्रे खण्डमा बेशको काम भई रहेकोले आगामी साढे दुई महिनमा काम सम्पन्न गर्ने तयारी भईरहेको कम्पनीका ईन्जिनियर मिनराज तामाङको बताउनुभयो ।
सडक कालोपत्रे हुँदा स्थानीयको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा परिवर्तन आउने छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनुभयो ।
छिमेकी जिल्ला धनकुटा र पाँचथरका बासिन्दालाई पनि सडक कालोपत्रे हुने भएपछि सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्