२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हिउँदे वर्षा नहुँदा पशु चरणको अभाव, पशु कृषक चिन्तित


52
Shares

सर्लाही । देशका अधिकांश भू-भागमा लामाे समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन् ।

वर्षा नहुँदा कृषकलाई घाँसको समेत समस्या हुन थालेकाे हाे । जसकाे उदाहरणका रूपमा सर्लाही जिल्लालाई लिन सकिन्छ । सर्लाहीका कतिपय पशु व्यवसायिक कृषकले घाँस आफ्नो बारीमा लगायका हुन्छन् । धेरै जसो कृषकहरू वन जंगल तथा खोलकाे नजिकमा भएको घाँसको भरमा पशुपालन व्यवसाय गरिरहेका छन् ।

वन र खोलामा आश्रित भएका कृषकहरू अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका छन् । आफूले पालेका गाई-भैंसी लगायतका अन्य पशु चाैपायाहरूलाई कसरी पाल्ने हाेला भन्ने चिन्तामा अहिले कृषकहरू रहेकाे छन् ।

सामान्यतया फागुन महिनाको पहिलो हप्ताबाट घाँस पलाउन सुरू हुन्छ । तापक्रममा वृद्धि भएसँगै गाई-भैंसीकाे चरण क्षेत्रमा घाँस पलाउने गर्दछ । तर यस वर्ष भने हिउँदे वर्षा नहुदाँ घाँस पलाउन सकेको छैन । यसरी घाँस नपलाउँदा घाँसको अभावमा कृषकहरूलाई अब कसरी आफ्ना गाई-भैंसी पाल्ने भन्ने चिन्ताले सताएकाे छ ।

दिन भर वन जंगलमा लगेर छाेड्ने र रातमा गोठमा बाँधेर गाई-भैंसी पाल्दै आएका कृषकहरू सबै भन्दा बढी समस्यामा परेका छन् । हिउँदाको अन्तिम र गर्मीको सुरुवातसँगै चरण क्षेत्रमा घाँस पलाउने गरेको भएता पनि यस वर्ष गत असोज महिनापछि पानी नपर्दा कृषकहरू समस्यामा परेका छन् ।

हिउँदे वर्षा नहुँदा हिउँदे अन्न बाली समेत देशका अधिकांश भागका सुक्दै जान थालेकाे छ ।