१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनको भीड


338
Shares

म्याग्दी । महाशिवरात्रि पर्वकाे अवसरमा म्याग्दीको गलेश्वर धाममा शनिबार बिहानदेखि भक्तजनहरूको भीड लागेको छ ।

शनिबार बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरूले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको हाे । बेनी बजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र काली गण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वर धाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाहरूबाट आएका भक्तजनहरूले पूजा आजा गरेका छन् ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्ग पूजा अर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ र चितवन लगायतका जिल्लाहरूबाट श्रद्धालु भक्तजनहरू आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालयका सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

महाशिवरात्रि पर्वका दिन भक्तजनहरूले शुद्ध भई ‘ॐ नम शिवाय’ मन्त्र जप्दै पूजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ ।
गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, धुनी जगाउने तथा भगवान शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ ।


यस पर्वलाई भव्य र सभ्य रूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिहरूमार्फत काम गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
महाशिवरात्रिमा गलेश्वरमा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिवकाे पूजा गर्दछन् ।

शिवरात्रि पूजाको व्रतकालमा भगवान शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसै गरी शिव पूजा गर्दा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्यूँले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ ।

यसैबीच म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि शनिबार बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । गलेश्वर शिवालय भन्दा नजिकमा रहेको बेनी शिवालयको १ सय ८ शिवलिङ्गमा पूजा गर्ने भक्तजनरतको घुइँचो लागेको जनाइएकाे छ । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनहरुलाई सहज रूपमा पूजा आजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

शिवरात्रि पर्वमा भक्तजनहरूले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिवकाे पूजा गर्दछन् । खासगरी हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व मनाउने गर्दछन् । फागुन कृष्ण चतुर्दशी तिथिका दिन पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरूको जनविश्वास रहिआएको छ ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ वटा गौमुखी धारा जडान भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ ।