२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान सकेन : सभामुख घिमिरे


26
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताउनुभएको छ ।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताउनुभएको हो ।

देशमा धेरै ऐन, कानूनहरु बनाउनुपर्ने आवश्यकता भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । उहाँले बनेका ऐनहरुको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको बताउनुभयो । उहाँले सरकारले संसदलाई उचित ढंगले नहेरेको बताउनुभयो ।

सभामुख घिमिरेले कतिपय कुराहरु न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताउनुभयो । उहाँले कार्यपालिका र व्यवस्थापिकाका बिचमा समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले ऐन, कानून कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरुका लागि सरकारले गम्भिर भएर कुनैपनि काम गर्न नसकेको बताउनुभयो । त्यस्तै, संसदमा पनि ति विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख घिमिरेले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो । उहाँले संसदलाई जनताको आकांक्षा अभिव्यक्ति गर्ने थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक दल र सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाएर संसद चलाउने बताउनुभयो । संसदले पूर्ण रुपमा जनताप्रति जवाफदेही भएर काम गर्ने उहाँको भनाई छ ।