३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज बस्दै


78
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे पदाधिकारीकाे बैठक साेमबार बस्ने भएकाे छ ।

पदाधिकारीकाे बैठक साेमबार दिउँसाे ४ बजे बस्ने भएकाे हाे । पदाधिकारीकाे बैठकमा राष्ट्रपति निर्वाचनको एजेण्डामा छलफल हुने बुझिएको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्र ठूलो दवावमा परेको छ ।

नेकपा एमालेसँगको सहमति अनुसार अघि बढ्ने कि राष्ट्रपतिमा विपक्षी दल नेपाली कांग्रेसलाई सघाउने भन्ने दोधारमा परेको माओवादीले राष्ट्रपति निर्वाचनकाे बारेमा छलफल गर्न पदाधिकारीकाे बैठक साेमबार बाेलाएकाे छ । एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिन कस्सिएका कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि निरन्तर दवाव बढाइरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको टोलीले साँझ बालुवाटार नै पुगेर प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिमा सघाउन औपचारिक रूपमा नै प्रस्ताव गरेको छ । कांग्रेस नेताहरुले ५ वर्ष नै प्रधानमन्त्री चलाउन दिनेगरी सम्झौता गर्ने लोभ पनि प्रधानमन्त्री दाहाललाई देखाएको बुझिएको छ।

प्रधानमन्त्री दाहालले भने सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा आफू रहेको भन्दै पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएकाे छ । कांग्रेस नेताहरु रातिसम्म बालुवाटारमा रहेका थिए । माओवादीभित्र एउटा पक्ष भने एमालेसँगको सहमति अनुसार नै जानुपर्ने अडानमा रहेको छ ।