
काठमाडौं । ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको छ ।
गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ ।
भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताउनुभयो ।
गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो ।
घटनालगत्तै उनीहरू दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।
सांसद भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्