१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी राष्ट्रपति बाइडेन युक्रेन पुगे


468
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् ।

रुसी आक्रमणको वर्षदिन पुग्न लाग्दा अमेरिकी राष्ट्रपति बाइडेन किभ पुगेका हुन् ।

रुसी आक्रमणपछि बाइडेन पहिलो पटक युक्रेन गएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति बाइडेन पोल्यान्डका राष्ट्रपति एन्द्रेज दुदासँग भेटवार्ताका लागि वार्सा जाने तय भए पनि उहाँ अचानक किभ पुगेका छन् । यसैबीच बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।

जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताए । अमेरिकी राष्ट्रपति कार्यालयका तर्फबाट जारी विज्ञप्तिमा राष्ट्रपति बाइडेनको यात्रा युक्रेनी लोकतन्त्र, सम्प्रभुता तथा क्षेत्रीय अखण्डताप्रति अटूट र अटल प्रतिबद्धता फेरि एक पटक पुष्टि भएको बताइएको छ ।

आगामी फेब्रुअरी २४ मा युक्रेन–रुस युद्धको एक वर्ष पूरा हुँदैछ । युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन । गत सेप्टेम्बरमा रुसी रक्षामन्त्री सेर्गेई सोइगुले करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको बताएका थिए । त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन ।

युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिक मारिएको बताएका थिए । उनले वास्तविक तथ्यांक भने राष्ट्रपति जेलेन्स्कीले मात्रै दिन सक्ने बताए ।

युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा १ लाख सैनिकको मृत्यु भएको हुन सक्ने बताएको छ । सर्वसाधारणतर्फ कति क्षति भयो भन्ने यकिन विवरण स्वतन्त्र तवरले आएको छैन । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयोगले पनि युक्रेनमा १८ हजार बढीको मृत्यु भएको जनाएको छ ।