
बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षातकार कार्यक्रममा थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताउनुभयो ।
उहाँले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्याण्डेड दिएको भएपनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको आरोप लगाउनुभयो ।
थापाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको बताउँदै नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुईतर्फ विचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको ठोकुवा गर्नुभयोे ।
अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्