७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चक्रपथ बिस्तारमा समस्या छैन : कुलमान घिसिङ


364
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।

बिहीबार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी-बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कलंकी-बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने बताउनुभयो । उहाँले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या नरहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ बिस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताउनुभयो । उहाँले जसअन्तर्गत रहेका करिब तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक बिस्तारका लागि कुनै समस्या नभएको बताउनुभयो ।

उहाँले सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि बताउनुभयो । उहाँले दोस्रो चरणमा चक्रपथ बिस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको बताउनुभयो ।

दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायतले सडक अनुगमन एवं निरीक्षण गर्नुभएको थियो ।