
काठमाडाैं । न्यून आय भएका घरपरिवारलाई सानातिना आर्थिक गर्जो टार्न उत्पादन मूलक काममा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्थापित लघुवित्त संस्थाप्रति पछिल्लो समय प्रश्न उठ्न थालेको छ।
सरकारले जुन उद्देश्य, मर्म र भावनासाथ लघुवित्तहरु खोलेको हो सो अनुसार चल्न नसकको गुनासा आउन थालेका हुन् । पछिल्लो समय लघुवित्तकै कारण ग्रामीण क्षेत्रका विशेषगरी महिलाहरु पीडित बनेको समाचार बाहिरिरहेका छन् ।
लघुवित्तहरुले चर्को सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्ति बढ्दै गएको लघुवित्त पीडितहरुको गुनासो छ । लघुवित्तबाट ऋण लिने परिवार नै तहसनहस बन्ने अवस्थामासम्म पुगेकाे दावी समेत गरिएको छ ।
योसँगै सेवा शुल्कमा डेढ प्रतिशत बढी लिन नपाउनेदेखि राष्ट्र बैंकले ऋण प्रवाहमा पनि कडा गरेको छ । लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्त लम्साल राष्ट्र बैंकले लघुवित्तको आवश्यकता नहेरी एकैपटक धेरै लघुवित्तको लाइसेन्स दिंदा अहिलेको समस्या आएको बताउनुहुन्छ ।
उहाँले लघुवित्तले ऋण असुलीको नाममा घरका भाडाकुँडा र सरसामान नै उठाउनु गलत भएको भन्दै लघुवित्त समीक्षा गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो । किन पैसा दिएको भनेर लघुवित्तलाई औंला देखाएर ऋण तिर्दिन भन्नु गलत रहेको निष्कर्ष उहाँको छ ।
प्रतिक्रिया दिनुहोस्