
कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ ।
सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा ‘सैनिक प्रदर्शनी तथा युनिट रन –२०७९’ सुरु गरेकाे हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल लगायतका प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रमुख तथा प्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि तथा प्रमुख, सञ्चारकर्मी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतको सहभागिता रहेको थियो ।
शुक्रबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म हुने उपरथी विजय थापाले जानकारी दिनुभयो । उहाँले इतिहासदेखि वर्तमानसम्मका सैनिकका विविध गतिविधिकाे बारेमा प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ सालदेखि केन्द्रदेखि प्रदेशमा यस्ता कार्यक्रम गरिन लागेको बताउनुभयाे ।
निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवं विकास निर्माण लगायत प्रदर्शनीमा रहेका छन् । राष्ट्र संघीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग लगायतका सुरक्षा गतिविधिकाे बारेमा प्रर्दशनी अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्