
काठमाडौं । निर्वाचनपछि बसेको प्रतिनिधिसभाको १२ औं बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ ।
अघिल्लो कार्यकालमा प्रतिनिधिसभा र प्रतिनिधिसभाको विषयगत समिति (संसदीय समिति)मा गणपूरक संख्या नपुग्ने समस्या ठूलो समस्याको रुपमा देखा परेको थियो । त्यस्तो समस्यालाई दोहोरिन दिन नहुने बाचा गर्दै सुरु भएको चुनाव पछिको बाह्रौं बैठक नै गणपूरक संख्या नपुगेर संसदको बिजनेश अगाडि बढ्न सकेन ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित आएको अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
कार्यसूची अनुसार प्रतिनिधिसभामा प्रधनमन्त्री दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्नुभयो । त्यसमाथि सांसदहरुले छलफलमा भाग लिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री शर्माले दिनुभयो ।
त्यसपछि सभामुख देवराज घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न खोज्नुभयो । लगत्तै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गणपूरक संख्या यकिन गर्न माग गर्नुभयो । ३ मिनेट घण्टी बजाएर यकिन गर्दा प्रतिनिधिसभामा जम्म ५० जना मात्रै सांसद उपस्थित रहेको जानकारीभयो ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत हुन २७५ को एक चौथाई सांसद आवश्यक पर्छ । संघीय संसद सचिवालयका अनुसार शुक्रबारको बैठकमा १६० जनाले हाजिर गरेका छन् । त्यसमध्ये जम्मा ५० जना मात्रै उपस्थित भएका कारण विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।
प्रतिक्रिया दिनुहोस्