
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् ।
आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णु प्रसाद पिठाकोटेले जानकारी दिनुभयो ।
९ वटा घरमा मानिस बसोवास गर्ने गरेको र बाँकी ५ घरमा भने मानिस अन्यत्र बसाई सरिसकेर खाली रहेको प्रहरीले जनाएको छ ।शुक्रबार अपराह्न गाउँको पुछारमा रहेको फक्चुवा खोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तीखर्क गाउँको बस्तीमा पसेर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अहिलेसम्म फुसका छाना भएका १४ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने कार्यमा प्रहरी र स्थानीय बासिन्दा गरी ८० जना भन्दा बढी खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाअध्यक्ष कृष्ण बास्कोटाले बताए । घटनास्थलमा दमकल जान सक्ने अवस्था छैन । पानी समेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्