७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा जंगली हात्तीको आतंक कायमै, १ सय बढी घर भत्किए


104
Shares

सिन्धुली । सिन्धुलीको कमलाखोंचमा सम्बन्धित निकायले जंगली हात्तीको उचित व्यवस्थापन गर्न नसक्दा आतंक मच्चाएकाे छ ।

कमलाखोंचका स्थानीय वासीन्दाहरु जंगली हात्तीको आतंकबाट लामो समयदेखि पीडित बन्दै आएका हुन्। कमलाखोंच क्षेत्रस्थित चुरे भावर क्षेत्र आसपास चरणका लागि आउने जंगली हात्तीको झुण्डले रातको समयमा स्थानीय किसानहरुको घर आवास भत्काउने, अन्नबाली खाइदिने र मानिसहरुको ज्यान समेत लिने घटनाले स्थानीय वासीन्दाहरु आतंकित बन्दै आएका छन् ।

पूर्वी नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षणबाट उदयपुर र सिरहा हुँदै सिन्धुली आएर लामो समस्यसम्म चरण गरी बस्ने जंगली हात्तीको झुण्डले कमलाखोंच क्षेत्रको रानीवास क्षेत्रको दुधौली नगरपालिका–४ बैराहा स्थानीयको घर आवास भत्काएको छ । अन्न बाली समेत नोक्सान गरेको छ ।

जंगली हात्तीकाे झुण्डले कमलाखोंचका स्थानीय वासीन्दाहरुको १ सय भन्दा बढी घर आवास भत्काएको छ । केरा-आँप र घरमा राखेको धान खाने काम गरेको छ । दिनको समयमा चुरे र भावर क्षेत्रमा बस्ने र रातको समयमा चुरे पहाड जंगलबाट मावन बस्तीमा प्रवेश गर्ने जंगली हात्तीका कारण कमलाखोंच क्षेत्रमा त्रास बढेको छ ।

एउटा झुण्डमा ३-४ को संख्यामा रहेका जंगली हात्तीका कारण वर्षेनी धनजनको नोक्सानी भएतापनि वन कार्यालय लगायतका सरकारी निकायले दिगो रुपमा व्यवस्थापन गर्नका लागि चासो देखाएकाे छैन । जसका कारण रानीवास क्षेत्रका स्थानीय वासीन्दाहरु जंगली हात्तीको समस्यामा परेका हुन् ।

कमलाखोंचस्थित रानीवास, निपाने र हर्षाही लगायतका क्षेत्रमा स्थायी रुपमा बासस्थान बनाएर बसेका जंगली हात्तीका कारण हालसम्म दुई दर्जन मानिहसहरुले अकालमै ज्यान गुमाएका छन् । हजारौं हेक्टर जमिनहरु समेत बाझै रहेका छन् ।

घना जंगल भएको सिन्धुलीको चुरे पहाड आसपासको कमलाखोंच क्षेत्रमा जंगली हात्तीको त्रासका कारण स्थानीय वासीन्दाहरु राति घरमा निदाउन समेत सकेका छैनन् ।