१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


म्याग्दीका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस मनाए


104
Shares

म्याग्दी । म्याग्दीका मगर समुदायले ४१औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् ।

परम्परागत भेषभूषा र पहिरनमा सजिएका मगर समुदायले साेमबार ‘कला संस्कृतिको संरक्षण गरौं’ भन्ने नारासहित सदरमुकाम बेनीमा मगर एकता दिवस मनाएका हुन् । छिटको गुन्यू, चौबन्दी चोली, रातो घलेकी र पटुकामा महिलाहरु सजिएका थिए । पुरुषहरु भने भोटो, इस्टकोट, कछाड, गलबन्दी र भरकलिमा सजिएका थिए ।

आफ्नो साँस्कृतिको संरक्षण र परम्परागत मारुनी नाँचहरु दिवसमा प्रदर्शन गरिएको थियो । ठूलो नाँच, भैली नाँच, सोरठी सालैजो जस्ता गीत गाउँदै मादल ठोक्दै गुन्यू, चोलो र टोपीको पहिरन फूल माला लगाएर गरिएको नृत्यले मगर समुदायको पहिचान गराएकाे थियाे ।

म्याग्दी मगर कला संस्कृतिमा धनी भएपनि पछिल्लो समय युवाहरु गाउँ छोडेर रोजगारीको लागि शहर बजारमा गएका कारण मगर समुदायको परम्परागत संस्कृति लोप हुँदै जान थालेको छ । म्याग्दीमा मात्र ४७ प्रतिशत भन्दा बढी मगर समुदायको बाहुल्यता रहेकाे छ ।