२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोटमा नेपालद्वारा मलेसिया १० विकेटले पराजित


923
Shares

काठमाडौं । संयुक्त अरव ईमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले मंगलबार चौथो जित हासिल गरेको छ ।

चौथो जित हात पार्ने क्रममा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । यूएईको अजमान स्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको हो । मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालका लागि दुवै ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो ।

मलेसियाका लागि मोहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मोहम्मद सायाहिरले १२ रन बनाए भने मोहम्मद हरिसानले पनि १२ रन बनाए । नेपालका लागि दीपेश कँडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए । त्यसैगरी आकाश चन्दले ४.३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए । मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए ।

सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।