
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ ।
संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा हाल कायम ३३२ र ७ वटै प्रदेश सभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुने छ ।
स्वीकृत कार्यक्रम बमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड– ७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।
आयोगको निर्णयबमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठनलाई लागू हुने छ ।
त्यस्तै, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई पनि आचारसंहिता लागू हुने छ ।
प्रतिक्रिया दिनुहोस्