१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्धन ट्यांकी अनियमितताबारे छानविन गर्ने सरकारको तयारी


208
Shares

काठमाडौं । नेपाल आयल निगमले अमलेखगन्जमा निर्माण गर्न लागेको ८० करोड रुपैयाँ लागतको इन्धन भण्डारण ट्यांकी अनियमितताबारे अध्ययन गर्न प्राविधिक कमिटी गठन हुने भएको छ ।

१० हजार किलोलिटर इन्धन भण्डारण क्षमताको ट्यांकी निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा नगराएको, निश्चित कम्पनीका लागि अनुकूल हुने गरी मापदण्ड बनाएर ठेक्का प्रक्रिया अघि बढाइएको र बढी लागतमा सम्झौता गरेको भन्दै अनियमितताको आशंका गरिएको छ ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ  । केही दिनअघि राजीनामा दिएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि प्राविधिकसमेतको संलग्नतामा अर्को छानबिन समिति बनाउन सचिवलाई निर्देशन दिनुभएको थियो । यसअघि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले आफ्नो प्रतिवेदन अख्तियारमा बुझाइसकिएको छ  । समितिले निगमका कार्यकारी निर्देशक उमेश थानी तथा ठेक्का प्रक्रियामा संलग्न अधिकारीमाथि बयान लिएर प्रतिवेदन बुझाएको हो  ।

अख्तियारको निर्देशनपछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मंसिर २८ मा उक्त छानबिन समिति गठन गर्नुभएको थियो । निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारणका लागि अमलेखगन्जमा १० हजार किलोलिटरका दुई भण्डारण ट्यांकी बनाउन लागेको छ  ।

जसमा ५-५ हजार किलोलिटर पेट्रोल र डिजेल मौज्दात हुने दाबी गरिएको छ । यी दुई ट्यांकी निर्माणका लागि करिब ८० करोड लागत अनुमान गरी ०७९ असोजमा टेण्डर आह्वान भएको थियो । रेलिगेर कन्स्ट्रक्सन प्रालि र समानान्तर निर्माण सेवाले ट्यांकी बनाउन प्रस्ताव गरेका थिए ।

रेलिगेरले ७८ करोड ४५ लाख र समानान्तरले करिब ८८ करोडको कबोल गरेका थिए । कम रकम कबोल गर्ने रेलिगेरलाई कात्तिक २८ मा निगमले छनोट गरेको थियो । निगमले मंसिर २९ मा शिलान्यास गरेर निर्माण प्रक्रिया सुरु गरिसकेको छ ।