
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बतानुभएको छ ।
बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले सबैको माया पाएको बताउनुभयो ।
उहाँले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताउनुभयो । वरिष्ठ नेता पौडेलले सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनि सचेत गराएको बताउनुभयो ।
अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दाहरुमा राष्ट्रिय एकता गरेर जानुपर्ने कुरा बताएका उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी अभिमुखिकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीहरुको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिवद्धता आएकाले समर्थन गरिएको कुरा राख्नुभएको सो पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी गराउनुभयो ।
सांसद भण्डारीले आफूहरु पुष १० गतेभन्दा अगाडीको गठबन्धनको घटक भएको भन्दै आफुहरु सरकारमा स्वतः सहभागि हुने बताउनुभयो ।
उहाँले आफूहरु सरकारमा सहभागि हुने भएपनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइ नसकेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्