
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको हो ।
भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गर्नुभएको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताउनुभएको लोसपा नेता राजेन्द्र महतोले बताउनुभयो । उहाँले आफू आठ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताउनुभयो ।
त्यस्तै, भेटपछि नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने बताउनुभयो ।
सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्