
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेटगरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गर्नुभएको हो ।
राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरुको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताउनुभएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंशा गर्नु भएको थियो ।
एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।
यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरुले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरुलाई बताउनुभएको थियो । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत माग्नु भएको र आफूले पार्टी भित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उहाँले बताउनुभयो ।
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनका लागि कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरुको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्