१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले भाेलि विश्वासको मत लिने


455
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि फागुन २१ गते आइतबार विश्वासको मत लिने हुनुभएकाे छ ।

मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाउनुभएकाे हाे ।

सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिनुभयाे। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी तयारी थालिएको उहाँले बताउनुभयाे ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।

मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले नेपाली कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।