
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मुहार फेरिंदै गएको छ ।
धनगढीलाई जोड्ने ६ लेनकाे सडक निर्माण भएसँगै यहाँको मुहार फेरिंदै गएको हो । ६ लेनकाे सडकमा सडक बत्ती जडान भएसँगै धनगढीमा प्रवेश गर्ने मुख्य सडक राति पनि झलमल्ल हुने गरेको छ ।
सडकमा पहिलो चरणमा ६ दशमलव ६ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो ।
उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले सडक बत्ती जडानका लागि २ करोड ६९ लाख ५८ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उपमहानगरको १ करोड ६१ लाख ७५ हजार, नेपाल विद्युत् प्राधिकरणको १ करोड ७ लाख ८३ हजार रुपैयाँको लगानीमा बत्ती जडान भएको हो ।
छोटो समयमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागले जनाएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडक बत्ती जडानको काम पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताउनुभयो ।
धनगढी प्रदेशको राजधानी भएकाले पनि धनगढीको मुहार फेर्न आवश्यक रहेको उहाँको भनाइ छ । उपमहानगरभित्रको क्षेत्रमा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो ।
दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्