९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आयुर्वेद अस्पतालका विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति


611
Shares

काठमाडौं । आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस २२ औं ब्याचका विद्यार्थी र क्याम्पसबीच सहमति भएको छ ।

१८ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनबीच आइतबार ६ महिना आयुर्वेद चिकित्सालय नरदेवी र ६ महिना आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्नसिप गर्ने सहमति भएको हो ।

क्याम्पसको तेस्रो अस्थायी परीक्षा नतिजा प्रकाशन भएसँगै इन्टर्नसिप गर्ने भनिएपनि क्याम्पस र चिकित्सालयको सम्झौताका कारण इन्टर्नसिप हुन सकेको थिएन । यसअघि पनि क्याम्पस र नरदेवीमा आधा÷आधा समय विद्यार्थीहरुको इन्टर्नसिप हुँदै आएकोमा विगत केही समय यता रोकिएको थियो ।

विद्यार्थीहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विगत ८ दिनदेखि क्याम्पसमा तालाबन्दी गरेका थिए । तर, आइतबार क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच ६/६ महिना दुवै शिक्षण संस्थामा प्राक्टिल गर्न पाउने समझादारी भएको हो ।

समझदारीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयुुर्वेद इन्टर्न डा. सुनिल भुसालले १८ दिनसम्म धर्नामा बसिसक्दासमेत क्याम्पसले चासो नदेखाएको आरोप लगाउनुभयो । उहाँले शिक्षा आयोगले तोकेको न्युनतम कार्यक्षेत्र पनि १० प्रतिशत प्राक्टिकल नकटाइ दक्ष डा. भनेर लाइसेन दिने अवस्था देखिएपछि त्यसको विरोधमा आफूहरु उत्रिएको स्पष्ट पार्नुभयो ।

उहाँले एउटा ओपिडीमा एक महिनामा एक जना बिरामी हेरेर आफूहरुलाई दक्ष चिकित्सक घोषणा गरेको आरोप लगाउँदै त्यो अस्वीकार गरेर आन्दोलन गर्न बाध्य भएको बताउनु भयो । इन्टर्नसिपमा परीक्षार्थीहरुलाई सुनको लड्डु देखाएर क्याम्पसले पित्तलमा ठगेको उहाँको आरोप छ ।

त्यस्तै, नेपाल लोकतान्त्रिक आयुर्वेद शिक्षण संघका अध्यक्ष डा. वंशदीप शर्मा खरेलले कुनैपनि इन्टर्नसीपमा गइसकेको विद्यार्थीहरुलाई उनीहरुको अभ्यासबाट कसैलेपनि रोक्नु नहुने बताउनुभयो । उहाँले आजको छलफलमा विद्यार्थीहरु र क्याम्पसबीच विद्यार्थीहरुलाई पूर्ववत रुपमा नै अभ्यास गराउने र शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने सहमति भएको बताउनुभयो ।

त्यस्तै, नेपाल आयुर्वेद चिकित्सक संघका निःवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीले विद्यार्थीहरुको चाहनालाई क्याम्पसले आजबाट समझदारी गरेको तर त्यसलाई कार्यान्यन हुनुपर्ने बताउनुभयो । उहाँले सकेसम्म एउटै क्याम्पसबाट विद्यार्थीहरुलाई इनटर्नसिप गराउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा. सन्तोषकुमार ठाकुरले आयुर्वेदका विद्यार्थीहरुका लागि परिषद्ले करिकुलम अनुसारको स्किलको व्यवस्था इन्टर्नसिपमा नै हुनेगरी व्यवस्था अघि बढाउन लागेको बताउनुभयो । उहाँले स्किल टेस्टिङको विकास भएको छ वा छैन भन्नेकुरा पाठ्यक्रमकै एउटा पार्ट बनाएर हेर्नेगरी काम गरिरहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरले विद्यार्थीहरुका माग सम्बोधन नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन शुरु गरेका थिए । उनीहरुले गुणस्तरीय शिक्षाको सुनिश्चितता नगरेको, विद्यार्थी एवं संस्थाको स्तरोन्नतिको प्राथमकितामा नराखेको र विद्यार्थीहरुलाई हतोत्साहीत गरेको आरोप लगाउँदै आएका थिए ।